अनिश्चितताको जिन्दगी

मिति : २०७० कात्र्तिक १९

आज तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन । भविष्यको सुन्दर सपना बोकेर काठमाडौँ छिरेको करिब एक दशक भैसकेको छ । काठमाडौँ धेरै मानिसहरुको सपना हो, भविष्य हो अनि जीवन किनकी धेरै मानिसले यहाँ आफ्नो सुन्दर भविष्यको कर्मथलो बनाएर अहोरात्र खटिरहेका छन् । प्रत्येक पल काठमाडौँमा आफूलाई टिकाउनका लागि संघर्ष गर्नेहरु धेरै छन् । यस्तै मान्छेहरुको भीडमा म पनि एक हूँ । यो दश वर्षको अन्तरालमा जीवनमा धेरै आरोह अवरोहहरु आए । प्राय: सबैजसो दशैँ, तिहारमा घरमा पुगेकै थिएँ । जेनतेन दुःखसुखका साथ बुबाआमाको काखमा खुशी तथा उल्लासका साथ पर्व मनाइन्थ्यो । अफसोच: यसपटक भने त्यस्तो रहेन । काठमाडौँमा नै बस्नुपर्ने व्यवहारिक परिबन्ध आइप¥यो । जीवनमा चाहेर पनि घर जानै सकिन । काठमाडौँको दशैँको प्रत्यक्ष भोगाइ यो एकदशकको इतिहासमा पहिलो पटक हो । साँच्चिकै, सुनसान यो दशैँको साक्षी पनि पहिलो पटक बनँे । तर, तिहारको रौनक भने अलिक फरक हुँदोरहेछ यो काठमाडौँमा । पूर्णरुपमा सन्नाटा छाएको काठमाडौँमा तिहारको दिपावलीले झिलिमिलि बनाएको छ । औँशीको समयमा पर्ने तिहार भएता पनि दशैँको पूर्णीमामा भन्दा बढी रौनक छाएको देखिन्छ । मानिसहरुको चहलपहल उत्तिकै मात्रामा बढेको छ । तर पनि कुन्नी किन मलाई यो काठमाडौँ ज्यादै नै स्वार्थी लाग्छ । न त यहाँ कुनै पर्वले मान्छे मान्छेबीचको सदभावलाई जोड्छ, न त कुनै मानवीय संवेदनालाई नै । यस्तै पीडाहरुको उकुसमुकुसमा आज एका विहानै News 24 बाट Tough Talk हेरीरहेको थिएँ । अचानक, स्वर्गीय साहित्यकार जगदिश घिमिरे र डा. चित्र प्रसाद वाग्ले शर्मासँगको वार्तालापको केहि सारांशहरुलाई पुनःप्रशारण गरिएको थियो । ती संवादहरुमा उनीहरुले जीवन भोगाइको यथार्थता र चेतले निम्त्याएको मृत्युसँगको भोगाइलाई प्रत्यक्ष रुपमा अनुभव गरी अभिव्यक्ति दिइरहेका थिए । यसले मलाई अत्यन्तै मर्माहित र भावविह्वल बनायो ।

जन्म पछिको मृत्यु सत्य छ । यो अकाट्य यथार्थ हो । अचेतले निम्त्याएको मृत्यु सबैले भोगेकै हुन्छ । तर, मानिसको मृत्यु चेतको पनि हुँदोरहेछ । अर्थात्, चेतले निम्त्याएको मृत्यु र त्यसले निम्त्याएको पीडा । महशुस गर्ने प्रयास मात्र गर्दा पनि मुटु भक्कानिएर आउँछ । छाति गह्रौँ भएको महशुस गर्छु । साँच्चिकै, मान्छेलाई म मर्दैछु भनेर दिन गनी बाँच्न कति कठोर जिन्दगी होला । सायद यस्तै पीडा र कठोरताका बीचमा ती द्धवय व्यक्तित्वहरुले आफ्नो भौतिक शरीरलाई समापन गरे । दुबै व्यक्तित्वहरुलाई मर्नुपर्छ अर्थात् मर्दैछु भन्ने समस्याले सताएको रहेनछ । तर, मरेर प्रत्येक दिन औपचारिक रुपमा भौतिक शरीरलाई लिएर बाँच्नु सबैभन्दा पीडादयी भएको रहेछ । र, भौतिक शरीरबाट प्राण नगएसम्मका लागि जति दिन बाँचेका छन् त्यो नै उनीहरुको जीवनको सबैभन्दा मूल्यवान बचाइ भएको महशुस गरेका रहेछन् । जस्तै, साहित्यकार जगदिश घिमिरेले आफ्नो जीवनको मृत्यु निश्चित प्रायः भएपश्चात् आफू बाँचेको प्रत्येक पललाई अधिकतम सदुपयोग गरी अन्तरमनको कथा र सकस जस्ता सर्वोत्कृष्ट साहित्यिक कृतिहरुको प्रकाशन गर्नुभयो । अन्तरमनको कथाले त मदनपुरस्कार समेत पाउन सफल भयो । त्यसैगरी, डा. चित्र प्रसाद शर्मा वाग्लेलाई मृत्युको समयावधि प्रायः निश्चित भइसकेपश्चात् उनलाई आफ्नो पेशा भन्दा पनि आफ्ना कलिला सन्तानले गुमाउने असल अभिभावकत्वको ठूलो चिन्ता र पीडा रहेछ । असल र सही अभिभावकत्वको अभावमा आफूले गुजार्नु परेको पीडादयी जीवनलाई उनले आफ्नो सन्तानलाई पूर्ति गर्न चाहन्थे । अफसोच ! उनको जीवन पनि त्यस्तो रहेन ।

स्व. साहित्यकार जगदिश घिमिरेले भने जस्तो जीवन दृष्ट्रिकोण हो । जसले जसरी हेर्न चाह्यो त्यसरी नै देख्न सक्ने । यसर्थ, जीवनका प्रत्येक पलहरु ज्यादै नै महत्वपूर्ण छन्, मूल्यवान छन् । र, मलाई पनि त्यस्तै लाग्छ । आजभोलि मैले बाँचेका प्रत्येक पलहरु पनि त्यत्तिकै महत्वपूर्ण र मूल्यवान लाग्छन् । जीवन संघर्षशील छ । प्रत्येक पल बाँच्नका लागि संघर्ष गरिरहेको छु । संघर्षले बाँचेको जीवन केहि सत्कर्म गरेर बाँचौँ भन्ने प्रयत्नमा छु । किनकी मलाई पनि मृत्युदेखि ज्यादै नै डर लाग्छ । त्यसैले जीवनको यतिका घडीसम्म आइपुग्दा समयलाई सही तवरले सदुपयोग गर्न नसकेकोमा आत्माग्लानी छ मलाई । समयको महत्व मानिसले त्यतिबेला बुझ्छ जतिबेला उसको जीवन अत्यन्तै नाजुक अथवा संवेदनशील अवस्थामा हुन्छ । यस अर्थमा पनि मलाई जीवन प्रतिको मोह अनि समयप्रतिको माया अत्यन्तै धेरै छ । किनकी जीवन अनिश्चित छ । जीवन कुन घडीमा कहाँ गएर कति बेला अस्ताउँछ अर्थात् विश्राम लिन्छ सबै अनविज्ञ नै छन् । त्यसकारण पनि जीवन बचाइको महत्व र महिमालाई अन्तरहृदयबाट नै बुझ्ने प्रयत्न गर्नुपर्दछ । यसले मलाई त्यो आत्माबोध गराएको छ । जति बाँच्छु त्यो बचाइलाई अर्थपूर्ण र मूल्यवान बनाउने प्रयत्न गर्ने प्रण गरेको छु ।

About the author

Krishna Gahatraj

Leave a Reply

Your email address will not be published.

en_USEnglish