एक अनौँठो साँचो प्रेम

२०७२ मंसिर ५

अँ ह..उसले पूर्णविश्वास नै गर्न सकेको छैन । उसले गरेको चोखो प्रेम आज ठीक आठ वर्षपछि व्यूँतिएर आएको छ भनेर । मदिराको मन्द नसामा छ ऊ । अचानक उसको मोबाइलनमा घण्टी बज्छ । मोबाइल झिक्छ र हेर्छ । नयाँ नम्बर बेनामी भएर बोलाइरहन्छ उसलाई । हिम्मत गरेर हेलो भन्छ । एक अपरिचित महिलाको आवाज सुन्छ । महिला सिधै बेनामी भएर कुरैकुराका प्रसंगहरु अगाडि बढाउने प्रयत्न गर्छे ऊसँग । उसलाई यो पटक्कै मन पर्दैन र फोन राख्ने प्रयास गर्छ । बेनामी महिला आफ्नो परिचय दिन विवस ठान्छे र भन्छे — म तिम्रो उही के …….।

ऊ अवाक् हुन्छ । मदिराको नसाले क्षणभरमै छोड्छ उसलाई । विश्वासै गर्न सक्दैन । र, भन्छ — आर यू ….. । रियल्ली ? रियल्ली ?? रियल्ली ???

जवाफमा उसले भन्छे — एस् म …..।
उसले पुनः प्रश्न गर्छ — हाउ डेयर यू कल मी ?
जवाफ दिन्छे — किन ? फोन गर्न नहुने थियो ?
उसले परिस्थितिलाई सामान्यीकरण पार्दै भन्छ — होइन, मैले तिमिलाई कहिल्यै त्यसो भनेको छु र ? प्रतिप्रश्न गर्दै सोध्छ उसले — यत्तिका वर्ष पछि बरु अचानक, अकस्मात कसरी भनेर नी । 
सामान्य जवाफमा टार्छे उसको प्रश्नलाई — ‘मन लागेर ।’ 

प्रतिकूल वातावरणका कारण उसले आफ्नो यो संवादलाई लम्बाउन नचाही छोट्याउँछ र अनुरोध गर्छ — क्यान आइ कल यू टुमरो राइट एफ्टर टेन ओ क्लक मर्निङ्ग ? 
सहमति दिन्छे उसले । 

उसको मनमा अनेक कुराहरु खेल्छन् । रातभरी सुत्नै सक्दैन । ठिक आठ वर्षअगाडि आफूले उसलाई गरेको प्रेम र त्यो प्रेमले दिएको सम्पूर्ण महत्वकांक्षी सपना र पीडाका परिदृश्यहरु एकपछि अर्को गर्दै उसको मानसपटलमा जीवित बनेर घुमीरहन्छन् । हुन त उसको यो प्रेम हिजो मात्रैको थिएन । आज पनि उत्तिकै छ । र, भोलि पनि उत्तिकै रहिरहनेछ ऊप्रति । साँचो अर्थमा भन्नुपर्दा कालान्तारसम्म रहिरहनेछ एक अजम्बरी प्रेम बनेर । 
उसको अनिंद्रासँगै रातले कोल्टे फेर्छ । जीवनको दैनिकीसँग जुहारी खेल्न तमतयार भइ लाग्छ । 

बिहान करिब ११ बजे ऊ आज सधैँका दिनहरुभन्दा निकै सोचमग्न अनुहार र भावग्रस्त मन लिएर कार्यालय प्रवेश गर्छ । बाटोमा आउँदा आउँदै उसको फोनमा त्यही प्रतिवद्धताका २ वटा घण्टीहरु बजीसकेका रहेछन् । सदाझैँ आफ्नै कार्यकक्षको टेबलमा बस्छ । र, उसलाई जवाफी घण्टी बजाउँछ । यो उसको आठवर्ष पछिको प्रत्यक्ष टेलिफोन संवाद हो । संवादमा सामान्य कुरा हुन्छ । तर उही पुरानो भाव, प्रेम र सद्भाव पाउँछ । उसो त आफ्नो पनि ऊप्रतिको प्रेम र सद्भावमा कुनै कमी भएको महसुस गर्दैन ।   

यतिका समयसम्म दुवैका जीवनका मोडहरुले ठिक विपरीत दिसातिर धेरै दुरी पार गरिसकेको छ । दुवैका जीवनका महत्वकांक्षी सपनाहरु र वर्तमान पूर्णरुपमा बदलिएका छन् । यद्यपि, आठवर्षपछिको यो पुनःसम्बन्धले ऊ पूर्णरुपमा बेहोसी भएको छ । टेलिफोन संवादमा शनिवार भेट्ने प्रस्ताव राख्छे उसले । ऊ विना प्रतिक्रिया निसर्त स्वीकार गर्छ । शनिबारको दिन । अफिस बिदा । तर पनि उसको मनले बिदाको महसुस गरेको छैन । सदाझैँ अति व्यस्त छ उसको मन । साँझको ठिक चारबजे । उसैको व्यग्र प्रतिक्षामा कलङ्कीको आकाशेपुलमुनी आफ्ना ती प्यासी नयनहरु ओछ्याएर असंख्य मान्छे र गाडीहरुलाई छिचोलेर बस्छ । झण्डै पौने घण्टाको प्रतिक्षा पश्चात् ऊ एक फरक आकारमा प्रस्तुत हुन्छे । विना धक् उसको स्कुटरमा पछाडि बसी एकान्त ठाउँको खोजिमा हुइँकिन्छ । आठ वर्षपछिको पहिलो भेट । ऊ न त हृदयभरीको प्रेमलाई बाटोभरी छताछुल्ल हुने गरी उसलाई अङ्कमाल गर्न सक्छ न त प्रेमले स्पर्श गर्न नै । आधीआधी मन बोकेर झम्सीखेलको एक रेष्टुँराँमा पु¥याउँछ उसलाई । समयको गतिसँगै बाक्लो साँझले छोपिसकेको थियो । यद्यपि, कफीसँगै जीवनका कथाहरु एकपछि अर्को गर्दै भन्छ र भने भन्दा बढी ऊ सुन्न चाहन्छ उसैको कथा । उसको जीवनमा आएको परिवर्तन । प्राप्त्त गरेका सफलताहरु । र, सफलताहरुसँगै चुमेका खुशीका पलहरु । 

अफसोच ! त्यो भेट खुशीको हुनै सकेन उसका लागि । एउटा प्रेमिका जसलाई ऊ जीवनमा अगाध प्रेम गर्छ र नचाहँदा नचाहँदै पनि छुट्टीएर टाढा बस्नु पर्छ । ऊ आज फेरी उसकै अगाडि आएर खुशीभन्दा बढी जीवनको पीडा र प्रायश्चित सुनाउँदै छे । ऊ भावविह्वल हुन्छ उसको दुःख, पीडा र आँशुसँग । र, निःशब्द भइ बस्छ एक निर्जीव वस्तु भएर । ऊ सम्झिन्छ उसको आँशुबाट प्रारम्भ भएको आठ वर्षअघिको प्रेम र जीवितै रहेको आँशुसहितकै प्रेम । उसले सधैँ उनीहरुबीचको सीमिततालाई मात्रै इङ्गित गर्छे र सम्भावनाहरुलाई पूर्णरुपमा मार्छे । ऊ उसको प्रेमको सम्भावनाहरुलाई हेर्छ र रमाउने चाह राख्छ । स्कुटरको गन्तव्यसँगै उसको गन्तव्य आइपुग्छ । तर पनि उसलाई अँ ह छुट्टिनै मन छैन । उसको  हृदयको प्रेम सामुद्रिक छाल जस्तै उर्लिएर आउँछ र उसलाई अङ्कमाल गर्छ । उसले पनि आफूलाई बाँधिरहन सक्दिन र तीनै हातहरु चुमेर प्रेम प्रकट गर्छे । र, मुटु निचोरेर रुन्छे । अनि प्रण गर्छे — अर्को जन्ममा उसकै भएर जन्मने ।।। रात पनि कठोर जस्तो लाग्छ उसलाई त्यो दिन । छिटोछिटो छिप्पिदै जान्छ । अन्तिममा छुट्टिनै पर्ने बाध्यतालाई स्वीकार गर्दै ऊ स्कुटर हुईँकाएर आफ्नै पुरानो वस्तीतिर लाग्छे । ऊ भने उसले छाडेका स्कुटरका चक्काहरुको डोवहरु र स्पर्श गरेका हातहरु चुम्दै नजरले भ्याएसम्म हेरिरहन्छ उसलाई । पारी क्षितिजसम्म पुगेर ऊ कुन्नी कता विलिन भइ । ऊ त्यही आफ्नो गहु्रङ्गो मन लिएर सधैँका लागि छुट्टिएर घरतिर लाग्छ । र, चुमिएका हातहरु पटक पटक चुम्दै, स्पर्श गर्दै उसलाई खोज्ने प्रयत्न गरिरहन्छ….। 

About the author

Krishna Gahatraj

Leave a Reply

Your email address will not be published. Required fields are marked *

en_USEnglish